
प्रतिनिधिसभामा आइतबारदेखि सुरु भएको आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेको छ। आफूहरुको विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद् सञ्चालन गरेको भन्दै राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी तरिकाले संसद् चलाइएको बताएका छन् । सभामुख देवराज घिमिरेले पेलेर संसद्को काम कारबाही अगाडि बढाएपछि प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन् ।
शून्य समयमा आफ्नो भनाइ राख्दै उनले भने, ‘सदनमा वेल घेराउ र नाराबाजी भइरहेका बेला कार्यसूची अघि बढाउनु उचित हुँदैन। यसरी संसद् चलाउनु यो संसदीय अभ्यास होइन। यो दादागिरी हो। यो दादागिरी बन्द गर्नुस्।’ प्रतिपक्षी दल राप्रपा र रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
यस्तै राप्रपाकी सचेतक बिना लामाले पनि सदनमा वेल घेराउ र नाराबाजी भइरहेका बेला कार्यसूची अघि बढाइएपछि बैठक बहिष्कार गरिएको बताइन् । संचारकर्मीसँग उनले भनिन्, ‘सदनमा सांसदहरू उठेर विरोध गरिरहँदा कार्यसूची अघि बढाउनु बहुमतको दादागिरी हो ।’
आइतबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमाथि छलफल सुरु गरेका हुन् ।