
प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका निम्ति अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयनसँगै साक्षरता- आजीवन सिकाइका कार्यक्रम सञ्चालनमा रहेको स्पष्ट पार्नुभयो ।
साक्षरता कार्यक्रम सञ्चालनमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने भन्दै उहाँले निरक्षरतालाई साक्षरतामा रूपान्तरण गर्न सबैको एकताबद्ध प्रयासको खाँचो औँल्याउनुभयो ।
गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रूपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरुआत गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यालय जाने उमेरका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्याएको उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले बालबालिकालाई विद्यालयबाट ‘ड्रपआउट’ हुन नदिन सरकारले दिवा खाजा, छात्रवृत्तिलगायत अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको र यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको स्पष्ट पार्नुभयो ।
उहाँले नेपालमा पछिल्लो समयमा पूर्ण साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै जानु महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने पनि बताउनुभयो ।
सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल पूर्ण साक्षर मुलुकतर्फ अग्रसर हुदै ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा लम्किरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले ‘बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्परिक समझदारी र शान्तिका लागि शिक्षा’ भन्ने वाक्यका साथ मनाउन लागिएको यस दिवसले शान्ति, सहिष्णुता, बहुभाषिक शिक्षा र आपसी समझदारीका साथ अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।