
वीरगन्ज पथलैया क्षेत्रका उद्योगीरव्यवसायीले अघोषित रुपमा हुँदै आएको विद्युत् कटौतीको समस्याले उद्योगधन्दा सञ्चालनमा समस्यामा परेको गुनासो गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले औद्योगिक करिडोरमा दैनिक औसतमा आठ घण्टाभन्दा धेरै विद्युत् कटौती हुँदै आएको आरोप लगाए ।
‘बारा पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्तिमा समस्या छ । औसत दिनको आठ घण्टा अघोषित विद्युत् भार कटौतीको सामना गर्दै आएका छौँ,’ उनले भने, ‘यहाँ दिनको १०-१२ पटक ट्रिपिङ हुन्छ । जसले गर्दा यस क्षेत्रका उद्योगले आफ्नो क्षमताको ३०र३५ प्रतिशत उत्पादन मात्र गर्न सकेका छन् ।’
अध्यक्ष गौतमले २०७५ सालमा औद्योगिक क्षेत्रको विद्युत् भार कटौतीमुक्तको घोषणा गरी नेपालभरि हर्षोल्लास मनाइएको छ-सात वर्ष नबित्दै पुनःपूर्ववत् अवस्था झैँ विद्युत् भार कटौती हुन थालेपछि उद्योगीरव्यवसायीलगायत सर्वसाधारणमाझ चिन्ता बढेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘यस क्षेत्रमा सिमेन्ट, फलाम र स्टिल, पशु दाना, खाद्यान्न, औषधि, चुरोट आदिसहित करिब एक हजार २०० उद्योग छन् । उद्योगका लागि विद्युत् कच्चा पदार्थ हो । विद्युत् नभई उद्योग सञ्चालन हुन सक्दैन । यस क्षेत्रमा सहज विद्युत् आपूर्ति नभएकाले त्यसको असर मुलुकको अर्थतन्त्रमा नै नकारात्मक रूपमा परिरहेको छ,’ अध्यक्ष गौतमले भने ।
सङ्घले विद्युत् आपूर्तिमा भएको हेलचेक्र्याइँका कारण उद्योग प्रतिष्ठानको करोडौँ रकमको औद्योगिक उपकरण खराब भइरहेको दाबी गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबेले माग र आपूर्तिबिच सन्तुलन नहुँदा केही समय कटौती भए पनि उद्योगीरव्यवसायीले भनेजस्तो आठ घण्टा नै विद्युत् भार कटौती नभएको दाबी गरे ।
‘अत्यधिक गर्मीले माग र आपूर्तिबिच तालमेलमा केही समस्या छ,’ उनले भने, ‘समस्या समाधानका लागि आवश्यक प्रयास गरिरहेका छौँ ।’ यो करिडोरमा दैनिक औसतमा ३०० मेगावाट विद्युत् आवश्यक पर्ने बताइन्छ । -रासस