
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्तापक्षसँग भएको दुई बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति तत्काल गठन गर्नुपर्ने बताए।
उनले सरकारसँग भएको सहमतिअनुसार गृह मन्त्रालयमार्फत एक महिनाभित्र छानबिन समिति बनाउने प्रतिबद्धता सार्वजनिकरूपमै गृहमन्त्रीले दिएको स्मरण गराउँदै त्यसलाई कार्यान्वयन गर्न आग्रह गरे। ‘सरकारले रोष्ट्रममै उभिएर हामी समिति बनाउँछौं भनेको हो, त्यसैले ढिलाइ नगरियोस्,’ पाण्डेले भने।
भिजिट भिसाका नाममा अपारदर्शी आर्थिक लेनदेन भइरहेको भन्दै उनले यो विषयमा जेठ १३ गतेदेखि नै आवाज उठ्दै आएको उल्लेख गरे। यो विषय केवल राजनीतिक मात्र नभई राष्ट्रिय समस्या र आम जनताको चासोको विषय पनि भएको उनको भनाइ थियो।
सहमति कार्यान्वयनमा ढिलाइ भइरहेको बेला प्रतिनिधिसभामा अन्य दलहरूको अवरोध पनि जारी रहनु अनुचित भएको पाण्डेले बताए। सहमति भएर पनि व्यवहारमा नआउनु सरकारको कमजोरी भएको उल्लेख गर्दै उनले तत्काल कदम चाल्न सत्तापक्षलाई आग्रह गरे।