
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् ।
चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा ‘Integrate Innovation for Energy Future’ भन्ने मूल नारासहित आयोजित शाङ्हाइ सहयोग संगठन (एससीओ) को पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।
उनले एससीओ सदस्य राष्ट्रबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवर्द्धन र क्षेत्रीय सहकार्यलाई सुदृढ गर्नुपर्नेमा जोड दिए । ऊर्जा अब व्यापारको विषय मात्र नभई दिगो विकास र साझा समृद्धिको आधार बन्न पुगेको भन्दै उनले एससीओ क्षेत्रलाई साझेदारी र नवप्रवर्तनमार्फत ऊर्जा स्वतन्त्रताको यात्रामा अघि बढाउनु आवश्यक रहेको उल्लेख गरे ।
नेपालको ऊर्जा योजनाबारे जानकारी दिँदै मन्त्री खड्काले भने, ‘नेपालले सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ, जसमा १५,००० मेगावाट निर्यात गरिनेछ ।’ हाल नेपालमा ३५ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइसकेको र सरकारको योजना निकट भविष्यमै यो दोब्बर बनाउने रहेको उनले स्पष्ट पारे ।
उनले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको, भारतको ग्रिड प्रयोग गरी पहिलोपटक बंगलादेशमा विद्युत् निर्यात गरिएको र यसलाई त्रिपक्षीय ऊर्जा सहकार्यको ऐतिहासिक उपलब्धिका रूपमा लिनुपर्ने बताए ।
एससीओ क्षेत्रमा अवस्थित विशाल जनसंख्या, ऊर्जा स्रोत र सम्भावनालाई दृष्टिगत गर्दै उनले नवप्रवर्तन, लगानी प्रवर्द्धन, ऊर्जा व्यापारका लागि क्षेत्रीय संरचना निर्माण तथा आपसी सहकार्यलाई थप मजबुत बनाउनु अपरिहार्य रहेको धारणा राखे ।
नेपाल एससीको संवाद साझेदार राष्ट्रका रूपमा ऊर्जा क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको उनले उल्लेख गरे । ‘ऊर्जा क्षेत्र समावेशी, दिगो र सहकार्यमा आधारित हुनुपर्छ र नेपाल यस यात्रामा अग्रसर छ ।’
बैठकमा एससीओ सदस्य राष्ट्रका ऊर्जामन्त्रीहरू, उच्च प्रतिनिधिहरू तथा प्राविधिक विज्ञहरूको सक्रिय सहभागिता थियो । बैठकले क्षेत्रीय ऊर्जा सहकार्य, प्रविधि, पूर्वाधार तथा व्यापारको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।