
सरकारले चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ।
उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा आउँदो असोजको पहिलो सातादेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी भएको हो।
सरकारले वाणिज्य मन्त्रालयमार्फत खर्च गर्ने गरी सहुलियत पसल सञ्चालनका लागि तीन करोड रुपियाँ बजेट विनियोजन गरेको छ।
खाद्य कम्पनीले सहुलियत पसल सञ्चालनमा आएपछि कम्पनीले बिक्री गर्ने चामलको मूल्यमा प्रतिकेजी पाँच रुपियाँ छुट गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले हालै गरेको बजार विश्लेषणमा चामलको मूल्य बजारमा भन्दा सस्तो भएको जनाएको छ। त्यसमा पनि सहुलियत पसल सञ्चालन भएपछि थप पाँच रुपियाँ छुट दिने कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले बताउनुभयो ।
देशभरि ४२ जिल्लाका विभिन्न ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुने छ। उपत्यकाका चार स्थानमा सहुलियत पसल सञ्चालन हुने उहाँले बताउनुभयो।
काठमाडौँ उपत्यकामा पालिकाको समन्वय र आउटलेटको सहजीकरण भएमा सहुलियत पसल थप गर्न सकिने उहाँले जानकारी दिनुभयो।
साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत पसल मार्फत नुन, चिनी खाने तेलमा छुट गर्ने जनाएको छ।
कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले नुन प्रतिकेजी दुई रुपियाँ, चिनी प्रतिकेजी पाँच रुपियाँ र खाने तेलमा प्रतिलिटर सात रुपियाँ छुट दिने गरी वाणिज्य मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी दिनुभयो।
चाडपर्वका बेलामा बजारमा बढी खपत हुने वस्तुको मूल्य नियन्त्रणका लागि सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ।
चाडपर्वको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान मार्फत सहुलियत पसल सञ्चालन हुँदै आएको छ।