
भारतको गुजरातको आनन्द र पद्रालाई जोड्ने पुलको बीचको भाग भत्किँदा नौजनाको मृत्यु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति शोक व्यक्त गरेका छन् ।
मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘गुजरातको बडोदरा जिल्लामा पुल भत्किँदा भएको ज्यान गुमाउनु धेरै दुःखद छ । आफ्ना प्रियजन गुमाउनेहरूप्रति मेरो समवेदना । म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
उनले मृतकका आफन्त र घाइतेलाई राहतको घोषणासमेत गरेका छन् । ‘प्रत्येक मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँको राहत प्रदान गरिनेछ । घाइतेहरूलाई ५० हजार रुपैयाँ दिइनेछ,’ उनले लेखेका छन् ।
बडोदराका प्रहरी उपरीक्षक रोहन आनन्दले सञ्चारमाध्यमहरुलाई भनेका छन्, ‘प्रारम्भिक जानकारीअनुसार, अहिलेसम्म नौ जनाको मृत्यु भएको छ र नौ जनालाई उद्धार गरिएको छ । उद्धार गरिएका व्यक्तिहरूको अवस्था सामान्य छ ।’
उनका अनुसार अझै दुईवटा ट्रक पानीमै रहेका छन् । उनले भने, ‘दुई ट्रक अझै पानीमा छन् र तिनीहरूलाई बाहिर निकालेपछि मात्र तिनीहरूमा कोही मृत वा जीवित व्यक्ति फसेको थाहा हुनेछ ।’
बीबीसी गुजरातीका अनुसार बडोदरा जिल्लाको बाहिरी इलाकामा रहेको माही नदीमा रहेको यो पुल बुधबार बिहान भत्किएको थियो । यसका कारण धेरै सवारीसाधन नदीमा खसेका थिए ।
घटनाको जानकारी पाएपछि स्थानीय अधिकारीहरूले राहत र उद्धार कार्य सुरु गरेका छन् ।
सडक तथा भवन विभागका प्रमुख इन्जिनियर सीपी पटेलले बीबीसी गुजरातीलाई भने, ‘यो पुल सन् १९८५ मा सञ्चालनमा आएको थियो ।’
पुल दुर्घटना कसरी भयो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘अनुसन्धान पूरा भएपछि मात्र थाहा हुनेछ। हामी मनसुनअघि र पछि सबै पुलहरूको निरीक्षण गर्छौं । रेकर्ड हेरेपछि मात्र यो पुलको अवस्था कस्तो थियो भन्ने थाहा हुनेछ ।’