काठमाडौं, असार २६ :

काठमाडौंको बौद्धमा आगलागी हुँदा एक वृद्धाको जलेर मृत्यु भएको छ ।

बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए । आगलागीमा परेर काभ्रेको चौरीदेउराली ३ घर भई बौद्ध बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार तामाङ शारीरिक रूपमा अशक्त थिइन् । आगलागी हुँदा कोठाबाट ननिस्किन सक्दा उनको जलेर मृत्यु भएको हो ।

घटनामा कोठाको झ्याल, ढोका, लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।