
त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा स्थापित आधुनिक एमआरआई र थपिएको १५ शय्यासहितको आकस्मिक कक्षको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल । तस्बिर : सचिवालय
त्रिवि शिक्षण अस्पतालमा १५ शय्याको इमर्जेन्सी ग्रिन एरिया वार्डको सुरुवात गरिएको छ । साथै आधुनिक थ्री टेस्ला एमआरआई सेवासमेत सुरुवात गरिएको छ ।
यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ दिएको थियो ।
सेवा सुरुआत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले टिचिङ अस्पतालमा नागरिकको भरोसा बढी भएको भन्दै सरकारी अस्पतालहरुमा धेरै आउनुको कारण यहीँ भएको बताए ।
अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र शुलभ सेवा प्राप्त गर्न सहज हुने भन्दै मन्त्री पौडेलले थप सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए । ‘टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ,’ मन्त्री पौडेलले भने ।
अस्पतालका निर्देशक प्रा.डा. सुवास आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पतालबाहिर जानु नपर्ने बताए ।
बिरामी संख्या अधिक भए पनि इमर्जेन्सीमा शय्या अभाव हुँदा एकै बेडमा दुई जनासम्म भर्ना गर्नु परेपछि अस्पतालले शय्या थप गरेर इमर्जेन्सी ग्रिन एरियामा १५ शय्या पुर्याएको हो ।
यसअघि आठ शय्या मात्र हुँदा कतिपय अवस्थामा एउटै बेडमा धेरैले उपचार गराउनुपर्ने बाध्यता थियो । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् । कम गम्भीर बिरामी रहने एल्लो एरियामा भने अब २० शय्या रहनेछ ।