
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् ।
काठमाडौंमा बुधबार राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा उनले संस्कृति अमूर्त विषय भएको र यसभित्रै शक्ति र समाजको प्राण रहेको बताए । उनले संस्कृति नभएको समाज नहुने र समाजको पहिचान संस्कृतिमै रहने बताए ।
संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम रहेको उनले उल्लेख गरे । आफू मन्त्री बनेको एक वर्ष पुगेको भन्दै उनले यसबीचमा संस्कृति र प्रकृतिलाई चलायमान बनाउने प्रयास गरेको बताए । नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशील बनाउन आफू लागिपरेको पनि बताए ।
‘संस्कृति एउटा अमूर्त विषय हो । तर यसैभित्र शक्ति छ, यसैभित्र प्राण छ । संस्कृति भनेको प्रत्येक समाजको प्राण तत्त्व हो । यदि संस्कृति छैन भने त्यो समाज छैन भनेर बुझ्दा हुन्छ । त्यो समाजको पहिचान छैन भन्ने बुझ्दा हुन्छ । संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम छ । त्यो दुनियाँका लागि दर्शनीय छ । हाम्रो पर्यटन विविधतापूर्ण छ,’ उनले भने ।
मन्त्री पाण्डेले सुधारका कुराहरु छायामा पारेर नकारात्मक कुरा मात्रै गर्ने काम गलत भएको बताए । मन्त्रालयले सुधारका विभिन्न योजनासहित काम गरिरहेको उनको भनाइ छ ।