काठमाडौं, साउन २ :

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त (एन-एएमई-सीआरजे २००) कलसाइन जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ ।

सिंहदरबारमा आज (शुक्रबार) आयोजित कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले उक्त प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरे । प्रतिवेदन ग्रहण गर्दै मन्त्री पाण्डेले कुनै पनि पूर्वधारणा वा दबाबविना आयोगले तयार पारेको निष्पक्ष प्रतिवेदन आएको जनाउँदै मन्त्रालय त्यसलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । आयोगले प्रतिवेदन बुझाएलगत्तै मन्त्रालयले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सर्वसाधारणका लागि सार्वजनिकसमेत गरेको छ ।

गएको वर्ष साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्गनजिकै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको दु:खद मृत्यु भएको थियो भने पाइलट मनीष शाक्यलाई जीवितै उद्धार गरिएको थियो ।

दुर्घटना भएको दिन नै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले विस्तृत अध्ययन, अनुसन्धान र विश्लेषणपछि प्रतिवेदन तयार पारेको हो ।