कैलाली, साउन १३ :

सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेका गाडी कैलालीको लम्कीमा एकआपसमा ठोक्किएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि चिसापानी जाँदै गर्दा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की चढेका गाडी आपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, पाल चढेको बा.२झ १४१९ नम्बरको गाडीलाई सार्की चढेको से.१झ ३३० नम्बरको गाडीले पछाडिबाट ठक्कर दिएको हो । घटना दिउँसो करिब सवा १ बजे लम्की क्षेत्रमा भएको हो ।

गाडीमा सामान्य क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । पाल चढेको गाडीको पछाडिको भाग र सार्कीको गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।

प्रधानमन्त्री ओली कैलालीको जानकी गाउँपालिका ९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन तथा चिसापानीस्थित रानी-जमरा इन्टेक कर्णाली परियोजनाको अवलोकन गर्न गएका थिए ।