
नेपाल प्रहरीले झन्डै एक वर्षको अवधिमा लागुऔषध मुद्दामा ७ हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्तलाई पक्राउ गरेको छ । यस्तै लागुऔषध बरामद पनि हालसम्मकै उच्च रहेको तथ्यांकले देखाएको छ ।
गत वर्ष रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै नयाँ चार चुनौती औंल्याएका थिए । जसमा पहिलो थियो- लागुऔषधको अवैध कारोबार र ओसारपसार । लागुऔषधसँगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइमजस्ता चुनौती थपिएको निष्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाएका लेखकको पहिलो वर्षको कार्यकालमा लागुऔषधविरुद्ध मुलुकभर नियन्त्रणका लागि महाअभियान सञ्चालन गरेका थिए ।
काठमाडौं उपत्यकामा लागुऔषध विरुद्धको प्रहरीमार्फत महाअभियान सञ्चालनमा छ भने गृहमन्त्रीले लागुऔषध नियन्त्रणका लागि मातहतका प्रहरी मात्रै होइन आमनागरिक, अभिभावकले लागुऔषधविरुद्धको महाअभियान साथ दिनुपर्नेमा जोड दिएका थिए ।
मुलुकभर विभिन्न कार्यक्रममार्फत लागुऔषधसम्बन्धी सचेतनासँगै कारबाहीलाई पनि द्रूत गतिमा अघि बढाएका मन्त्री लेखकले गति दिएअनुसारको सफलता प्राप्त हुँदै गएको उनको सचिवालयले दाबी गरेको छ ।
मन्त्री लेखकले नेतृत्व सम्हालेयता बितेको एक वर्षमा लागुऔषध मुद्दामा ७ हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ परेका हुन् । जुन संख्या अघिल्लो आव भन्दा १,२०१ ले बढी हो । अघिल्लो आव ०८०/८१ मा ६ हजार ७ सय ४२ जना पक्राउ परेका थिए ।
गत आव ०८१/८२ मा पक्राउ पर्नेमा ७ हजार १९७ पुरुष, ४२१ महिला, ३०७ भारतीय र १८ अन्य मुलुकका नागरिक रहेको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
यस अवधिमा लागुऔषधका ५ हजार ११० मुद्दा दर्ता भएका छन् । यो अवधिमा २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरोहोरोइन, ८२९ किलोग्राम चरेस र ५१४३९ ग्राम गाँजा बरामद भएको छ ।
त्यसैगरी एक वर्षको अवधिमा एम्पुल २२०,४१०, नाइट्राजेपाम ९३,४२४, कोडिन सिरप (कोरेक्स) ८९४० लगायत ठुलो मात्रामा अन्य लागुऔषध प्रहरीले बरामद गरेको छ ।
अघिल्लो आवभन्दा लेखकको कार्यकालको पहिलो वर्षमा कोकिन मात्रै ७ किलो विगतभन्दा बढी बरामद भएको ब्युरोको तथ्यांकबाट देखिन्छ ।
ब्युरोको तथ्यांकअनुसार आव ०७९/८० मा लागुऔषधसम्बन्धी ४१ सय मुद्दा दर्ता भई ६ हजार १८६ जना पक्राउ परेका थिए । भने आव ०८०/८१ मा ४४ सय २४ मुद्दा दर्ता भई ६ हजार ७४२ जना पक्राउ गरिएको थियो ।
लागुऔषध नियन्त्रण तथा अवैध ओसारपसारलाई नियन्त्रण उच्च प्राथमिकतामै रहेले सफलता हासिल हुँदै गएको मन्त्री लेखकको दाबी छ । सवारीसाधन दुर्घटना बढ्नुका साथै आत्महत्या, साइबरक्राइमलगायत अपराधिक घटनाका पछाडि पनि लागुऔषध प्रयोग एउटा कारकका रुपमा देखिएको ब्युरोको भनाइ छ ।
खैरोहिरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोललगायत अन्य औषधि मुलुकभित्र प्रयोग बढ्दो रहेको छ । कोकिन, अफिम, चरेस र गाँजा भारत तस्करी हुने गरेको छ । प्रहरीले देशभरका जिल्ला प्रहरी कार्यालयमा अभियुक्तहरुविरुद्ध मुद्दा चलाउँदै आएको छ भने लागुऔषध नियन्त्रण ब्युरो र ब्युरो मातहतका दश वडा कार्यालय यसको नियन्त्रणमा सक्रिय छन् ।
ब्युरोको विवरणअनुसार पनि गत आवमा मात्रै १६ सय ७५ जनालाई मुद्दा चलाइएको छ । अघिल्लो आर्थिक वर्षमा ब्युरोले ११ सय ९३ जनाविरुद्ध मुद्दा चलाएको थियो ।
आव ०७९/८० मा ब्युरोले ९३७ जना विरुद्ध मुद्दा चलाएको थियो । विवरणअनुसार ब्युरोको सक्रियता बढेकै कारण अभियुक्तहरु पक्राउ पर्ने क्रम बढेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बलले लागुऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ । बितेको एक वर्षमा सशस्त्र प्रहरी बलले लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न ४६० जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलले ‘नशारहित युवा-हाम्रो देशका कर्णधार, सिमानाको रक्षा-राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागुऔषध नियन्त्रणमा जुटेको छ । सशस्त्र प्रहरी बलले यो अवधिमा ठुलो मात्रामा लागुऔषध समेत सीमानाका क्षेत्रबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले जानकारी दिए ।