काठमाडौं, साउन १६ :

नेपालको मुख्य व्यापारिक नाका पर्सामा पुराना उद्योगको लगत कट्टा गराउनेभन्दा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको छ ।

देशको अर्थतन्त्रमा सुधार भई व्यपारको वारतावरण निर्माण हुँदै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बढेको हो । लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको छ । पहिले कोरोना महामारी र त्यसपछि आएको वैश्विक आर्थिक मन्दीले थला परेको राष्ट्रिय अर्थतन्त्रमा क्रमिक सुधार हुँदै देशमा उद्योग व्यपारको वातावरण निर्माण भएपछि पर्सामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढेको छ ।

आर्थिक वर्ष ०८०/८१ को तुलनामा आव ०८१/८२ मा नयाँ उद्योग दर्ताको संख्या २२ प्रतिशले वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांकअनुसार अघिलो आर्थिक वर्षमा उद्योगतर्फ ८९७ वटा र वाणिज्य तर्फ ५१५ वटा गरी १४ सय १२ वटा नयाँ उद्योग दर्ता भएको तुलनामा गत आवमा उद्योगतर्फ ९६३ वटा र वाणिज्यतर्फ ७५८ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

समीक्षा अवधिको तुलनामा गत आवमा २१.८८ प्रतिशत बढी अर्थात ३ सय ९ वटा उद्योग बढी दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पवन पञ्जियारले जानकारी दिए । उनले आर्थिक मन्दीको प्रभाव घट्दै गएकाले मुलुकमा उद्योग व्यापारको वातावरण बन्दै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउने क्रम बढ्दै गएको बताए ।

पर्सामा नयाँ उद्योग दर्ता गराउने क्रम बढेसँगै दर्ता रहेको उद्योगको नवीकरण गराउनेको संख्यामा पनि ३७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २१ सय ९२ वटा उद्योगले नवीकरण गराएको तुलनामा गत आवमा नवीकरण गराउने संख्या २९ सय ९०  पुगेको पञ्जियारले बताए ।

नयाँ उद्योग दर्ता र नवीकरण गरउनेको संख्या बढे पनि पुराना उद्योगको लगत कट्टा गराउनेको संख्या पनि उल्लेख्य रहेको पञ्जियारको भनाइ छ । उनले अघिल्लो आवमा लगत कट्टा गराउने उद्योगको संख्या ४१३ रहेको तुलनामा गत आवमा उक्त संख्या ४६५ पुगेको बताए ।

समीक्षा अवधिको तुलनामा लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको कार्यालयले जनाएको छ । अघिलो आवमा दर्ता भएको उद्योगले ३९ सय ४१ महिला र पुरुषलाई रोजगारी प्रदना गरेका तुलनामा गत अवामा दर्ता भएका उद्योगले २८ सय ९८ महिला र पुरुषलाई रोजगारी प्रदान गरेको कार्यालयका प्रमुख पञ्जियारले जानकारी दिए ।