भोजपुर, साउन १७ :

भोजपुरका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका ८, खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युत्‌को पहुँचमा जोडिएका छन् । भौगोलिक रूपमा विकट मानिने यो स्थानमा वडाको सक्रियतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो ।

विद्युत् विस्तारको शून्य अवस्थाबाट काम सुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए । बाँकी रहेका घरमा पनि चाँडै विद्युत् विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा लक्ष्य रहेको वडाध्यक्ष राईले बताए ।

‘यहाँको ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएका छौँ,’ उनले भने, ‘यहाँ शून्य अवस्थाबाट विद्युत्‌को काम थालेर विस्तारको अन्तिम चरणमा पुर्‍याएका छौँ । यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।’

केन्द्रीय विद्युत् विस्तार भएपछि वषौँदेखिको टुकीको सहायतामा रात कटाउनुपर्ने बाध्यताबाट मुक्त भएको स्थानीय दिलकुमार योगीले बताए । पुस्तौंबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युत्‌को केन्द्रीय लाइन विस्तारले सहजता भएको उनले बताए । विद्युत् विस्तारले उज्यालोसँगै कुटानी पिसानीको दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ ।

‘हाम्रो ठाउँका प्रायः सबै स्थान बिजुली पुगेको छ,’ उनले भने, ‘विद्युत् विस्तार भएपछि गाउँमा सुविधा थपिएको छ । अध्यारोमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । वर्षौंपछि गाउँमा झिलिमिली बत्ती बलेको देख्दा आनन्द लाग्छ ।’

दुर्गम क्षेत्र भए पनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीय दलबहादुर राई बताउँछन् । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा  बसेर देश विदेशको जानकारी लिन सक्ने अवस्था बनेको उनको भनाइ छ ।
 
‘विद्युत् नहुँदा हामीले धेरै समस्या भोग्दै आएका थियौँ,’ उनले भने, ‘विद्युत् विस्तारपछि हामी धेरै खुसी छौं । विद्युत्‌ले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । बालबालिकाले सहज रूपमा पठनपाठन गर्न पाएका छन् ।’