
नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेससँग गौरवपूर्ण इतिहाससँगै देशलाई आर्थिक, सामाजिक रूपमा अघि बढाउन सक्ने क्षमता रहेको बताएका छन् ।
कांग्रेस गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अबको कार्यभार आर्थिक समृद्धि रहेको भन्दै त्यसका लागि सुदृढ कांग्रेस बनाउनुपर्नेमा जोड दिए ।
पार्टीलाई संस्थागत रूपमा चलाउनुपर्नेमा आफूले जोड दिँदै आएको भन्दै उनले पार्टी नेतृत्व र कार्यकर्ताले आफ्नो ऊर्जा संगठन सुदृढ बनाउन लगाउन आग्रह गरे । नेता सिंहले पार्टीमा लागेर पार्टीबाट लिनेभन्दा देश र समाजका लागि योगदान गर्ने व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने पनि बताए ।
‘राजनीतिक नेतृत्व मात्र होइन आउने दिनमा आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले गर्नुपर्नेछ,’ उनले भने । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले अहिलेको गठबन्धन परिस्थितिको उपज रहेको दाबी गरे ।