काठमाडौं, भदौ १० :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसरको अवलोकन गरेका छन् ।

मन्त्री पाण्डेले पशुपतिनाथ पुगेर दर्शनार्थीसँग संवाद गर्दै त्यहाँको व्यवस्था र अवस्थाबारे चासो देखाएको उनको सचिवालयले जनाएको छ । उनले दर्शनका लागि भक्तजनलाई सहज वातावरण मिलाउन कोषले गरेको प्रयासप्रति सन्तोष जनाए ।

साथै पशुपति आउने जो कोहीलाई पनि छिटोछरितो तथा व्यवस्थित रूपमा दर्शन गर्न पाउने वातावरण कायम गर्न कोषका कर्मचारीलाई आवश्यक निर्देशन दिए ।

यस वर्ष विगतका तुलनामा बढी सहज र व्यवस्थित वातावरणमा पूजा-दर्शन गर्न पाएको अनुभव सुनाउँदै दर्शनार्थीहरूले कोष, सुरक्षाकर्मी तथा व्यवस्थापकीय निकायको कार्यको प्रशंसा गरेका छन् ।