
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूलाई मन्त्री बनाउने भन्दै भइरहेको अनलाइन मतदानबाट आफ्नो नाम हटाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नवगठित अन्तरिम सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा डा. केसीको नाम समावेश गरिएकोमा उनले विज्ञप्ति जारी गर्दै त्यसप्रति आपत्ति जनाएका हुन्।
‘मन्त्री परिषदका सदस्य चयनका लागि केही समूहले अनलाइन मतदान गरिरहेको र त्यसमा मेरो नाम पनि राखिएको जानकारी आएको छ,’ डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘तर म कुनै पनि पद वा ओहोदाको आकांक्षी छैन, न अतीतमा थिएँ, न वर्तमानमा छु, न भविष्यमा नै हुनेछु। त्यसैले मेरो नाम मतदानबाट हटाइदिन सबै पक्षसँग अनुरोध गर्दछु।’
डा. केसीले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिले नव युवा पुस्ताको आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई तार्किक निष्कर्षमा पुर्याउने अपेक्षा गरेको उल्लेख गरेका छन्।