काठमाडौं, असोज २१ :

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई सबै राजनीतिक दलहरूसँग संवाद गर्न निर्देशन दिएकी छन्। मंगलबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा कार्कीले पुराना, नयाँ र सरोकारवाला सबै दलसँग सम्वाद गर्न आवश्यक रहेको बताउँदै सोही अनुसार अघि बढ्न आग्रह गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारीमा सरकारबाट कुनै कमी नहोस् भन्नेमा जोड दिँदै आवश्यक सबै सहयोग गर्न तयार रहेको स्पष्ट गरेकी छन्।बैठकमा गृहमन्त्री, अर्थमन्त्री र कानुनमन्त्रीसहित आयोग प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १ देखि १० भित्र राजनीतिक दल दर्ता गरिसक्नुपर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।

समानुपातिक प्रणालीका लागि १८ र १९ पुसमा बन्दसूची पेश गर्नुपर्ने समयसीमा तोकिएको छ। नयाँ दल बनाउनेहरूले ३० कात्तिकभित्र दल दर्ता गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

प्रधानमन्त्रीको निर्देशनसँगै आयोगले ३० गते सबै दललाई छलफलमा बोलाएको छ। यसअघि कांग्रेस, एमाले, माओवादीलगायत दलहरूले राष्ट्रपतिसँग सर्वपक्षीय सहमतिका लागि आग्रह गर्दै आएका थिए।