
गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको १९ स्थानमा ‘डाइभर्सन’बनाएर अवरुद्ध ‘ट्रयाक’ खुलेको छ ।शुक्रबार देखि नै सवारीसाधान सञ्चालनमा ल्याउने गरी रातको समयमा कामलाई निरन्तराता दिइएपछि राजमार्ग पूर्णरूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
असोज १७ र १८ गतेको लगातारको वर्षासँगै सो राजमार्ग क्षतिग्रस्त हुँदा मानिस आवतजावतमा समेत समस्या भएको थियो । सडक डिभिजन भक्तपुरका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशका अनुसार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ट्रयाक खोलिसकिएको छ। शुक्रबार दिउँसोसम्ममा सबै अवरुद्ध स्थानमा अस्थायी ट्रयाक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।
लगातारको वर्षा पछिको बाढीले बीपी राजमार्गका करिब १७ स्थानमा क्षति पुर्याएको थियो। विशेषगरी रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक बगाएको थियो। त्यस क्षेत्रको माम्ती क्षेत्रमा अहिले अस्थायी डाइभर्सन निर्माण तीव्र रुपमा भइरहेको छ।
डिभिजनका अनुसार बिहीबार दिउँसोदेखि रातिसम्म करिब दुई दर्जन मेसिन प्रयोग गरेर अस्थायी सडक निर्माणको काम जारी छ।
यसैबीच, बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त राजमार्गको विभिन्न खण्डको अवलोकन गर्दै राति–दिन काम गरेर चाँडो सवारी सञ्चालन गर्न निर्देशन दिएका थिए। मन्त्री घिसिङले निर्माण कार्यमा संलग्न ठेकेदार र प्राविधिक टोलीलाई ढिलाइ नगरी छिटो यातायात सञ्चालन हुनेगरी काम सम्पन्न गर्न निर्देशन दिएका थिए।
सडक डिभिजन कार्यालयले बीपी राजमार्गको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रिया अघि बढाइसकेको जनाएको छ। पूर्वी नेपाललाई काठमाडौँसँग जोड्ने छोटो तथा महत्त्वपूर्ण राजमार्गको रुपमा रहेको बीपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने गरेका छन्।