काठमाडौं, असोज २७ :

सामाजिक सञ्जालमा भाइरल भएको पेस्तोल बोकेको व्यक्तिको भिडियो जेन–जी आन्दोलन को समयमा खिचिएको नभएको पुष्टि भएको छ। उक्त व्यक्ति टीओबी(तिब्बतीयन ओरिजिनल ब्लड) समूहका सदस्य तेन्जेन दावा हुन् । उनीबाट नक्कली पेस्तोल बरामद गरिएको छ।

भाइरल भिडियो करिब एक वर्ष पुरानो भएको र टिकटकमा ध्यानाकर्षण गर्न बनाइएको प्रहरीले जनाएको छ। भिडियोमा तेन्जेन बिजुलीबजारस्थित पुलमा टीओबी लेखिएको ज्याकेटमा चुरोट तान्दै कम्मरमा पेस्तोल भिरेको देखिन्छ।

प्रहरी अनुसन्धानमा तेन्जेनले आफूले देखाएको हतियार नक्कली भएको स्वीकार गरेका छन्। उनलाई टिकटकमा भाइरल बन्ने उद्देश्यले भिडियो बनाएको र आन्दोलनमा सहभागी हुँदा बाइक पड्काएर ध्यान खिच्न गएको बताएका छन्।

तेन्जेन ट्याटु आर्टिस्ट हुन् र हाल कपनको पैयुँटारमा बस्दै आएका छन्। उनका बाबु भारतीय सेनामा कार्यरत थिए। तेन्जेनले सुदन गुरुङ वा ‘हामी नेपाल एनजीओ’ सँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्।

 टीओबी (तिब्बतीयन ओरिजिनल ब्लड) समूहका ३ युवाहरूलाई थप ६ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ।
उनीहरूविरुद्ध अभद्र व्यवहारमा प्रशासनबाट अनुमति लिएर  थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले  जानकारी दिए। पेस्तोल र टीओबी समूहको भूमिका बारे थप अनुसन्धान जारी रहेको बताइएको छ।