दाङ, कात्तिक ६ :

दिदीको हातबाट तिहारको टीका लगाएर फर्किँदै गर्दा देउखुरीमा एक व्यक्तिको बसको ठक्करबाट मृत्यु भएको छ।

राप्ती गाउँपालिका-५ सिंगे निवासी ६५ वर्षीय रामप्रसाद भट्टराईलाई लमही नगरपालिका-५ स्थित लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिक रहेको स्थानमा बसले ठक्कर दिएको थियो।

प्रहरीका अनुसार, पूर्वपश्चिम राजमार्ग अन्तर्गत दिउँसो १ बजेको समयमा लु १ ख ९८७६ नम्बरको बसले भट्टराईलाई ठक्कर दिएको थियो। घटनामा गम्भीर घाइते भएका भट्टराईलाई तत्काल लमही अस्पताल ल्याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिए। दुर्घटनामा संलग्न बस र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।