
जेनजी समूहहरुलाई एकताबद्ध हुन र सहिदहरूको रगत नबिर्सन आह्वान गर्दै काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार प्रदर्शन गरिएको छ। ‘जेन–जेड युनाइटेड’ नामक समूहको आयोजनामा भएको प्रदर्शनमा बालबालिका, युवा तथा सहिद परिवारका सदस्यहरू सहभागी भएका थिए।
प्रदर्शनकारीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘सहिदहरूको रगत नबिर्स’ र ‘देशका घाउ हाम्रो जिम्मेवारी’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
सहभागीहरूले हालको राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै देश र लोकतान्त्रिक मूल्यको रक्षा गर्न नयाँ पुस्ता एकजुट हुनुपर्ने बताएका छन्। उनीहरूले जेनजी आन्दोलनका क्रममा सहिद भएका युवाहरूको बलिदान व्यर्थ हुन नदिन खबरदारी पनि गरेका छन्।
प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको र सुरक्षा निकायले माइतीघर आसपासमा सुरक्षा व्यवस्था कडा पारेको बताइएको छ।



