सिन्धुली, कात्तिक ११ :

कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर मदनप्रसाद परियारले सिन्धुलीको जुनार बगैचा निरिक्षण गरेका छन् ।

जुनार किसानको समस्या बुझ्न कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर परियार सिन्धुलीको जुनार किसानको बगैचामै पुगेका हुन् । जुनारको मुख्य सिजन हुदै गर्दा जुनारमा किराको समस्या भएको गुनासो आएपछि कृषि मन्त्रीले स्थलगत निरिक्षण गरेका हुन् ।  जुनार बगैचा निरिक्षण गर्दै मन्त्री परियारले तत्कालिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई र हालको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जुनार क्षेत्रमा गरेका काम र प्रभावकारीता सम्बन्धि स्थलगत निरिक्षण गरेका हुन् ।

परियोजनाले दश बर्ष काम गरेको र त्यसबाट किसानको जिवनस्तरमा आएको परिवर्तनका सम्बन्धमा जानकारी लिन आफु किसानकै बगैचामा पुगेको मन्त्री परियारको भनाई थियो । केहि साता अगाडी जुनारको फल कुहिने समस्या भएको किसानहरुले गुनासो राखेको सञ्चारमाध्यमबाट आफुले जानकारी पाएको र त्यसको अवस्था बुझ्न समेत जुनार बगैचामा पुगेको मन्त्री परियारको भनाई छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले सिन्धुलीको जुनार क्षेत्रमा सुपरजोनको बनाई दश बर्षदेखि काम गर्दै आएको छ । सोही कार्यक्रमले किसानमा के कस्तो फाइदा पुगेको छ र सो कार्यक्रम थप गर्न कत्तिको आवश्यकता छ बुझ्न म सिन्धुलीको जुनार बगैचामा आएको हुँ मन्त्री परियारले भने। 
    
मौलिक फल जुनारले सिन्धुलीका किसानहरुको आयआर्जन बृद्धि गर्न महत्वपुर्ण टेवा पुयाएको छ । ढुसीजस्तो देखिने रोगले जुनारको बाटमै कुहिने समस्या भएको गुनासो किसानबाट आएको हो ।

जुनार क्षेत्रमा पुग्ने सडक अत्यन्तै जोखिमपुर्ण र कष्ठकर भएको किसानले गुनासो गरेका छन् ।  यस्तै बेला बेला जुनारमा लाग्ने रोगले आफुहरुलाई चिन्तित बनाएको किसानले मन्त्रीलाई जानकारी गराएका थिए ।  सिन्धुलीको गोलञ्जोर गाँउपालिका ४ तिनकन्यामा कृषि मन्त्री परियार पुग्दा स्थानिय किसान खुसी भएका छन् ।

राष्टिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको तथ्याङ्कअनुसार जिल्लामा एक हजार ३१८ हेक्टरभन्दा बढीमा जुनार र सुन्तलाखेती हुँदै आएको । त्यसमध्ये ७९४ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएका बोटले उत्पादन दिइरहेका छन् ।

जुनार उत्पादनका लागि सिन्धुलीको गोलञ्जोर गाउँपालिकालाई मुख्य केन्द्र हो । यस क्षेत्रबाट बर्षेनी करोडौको जुनार कारोबार हुने गरेको छ । जुनारको मुख्य क्षेत्रमै समस्या देखा परेपछि तत्कालै आफुहरु फिल्डमा गएर त्यसको समाधान खोजिएको राष्टिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सिन्धुलीका प्रमुख यामकुमार श्रेष्ठको भनाई छ ।

जुनार बढाउने,बचाउने लगायतका कार्यक्रम जुनार क्षेत्रमा गर्दै आएको कार्यालयले जनाएको छ । कृषि मन्त्रीका साथमा मन्त्रालयका कर्मचारी, फलफुल लाग्ने किरा रोगका विशेषज्ञ बरिष्ठ कृषि विकास अधिकृत डाक्टर देवराज अधिकारी, कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारी लगायत कर्मचारीहरू तथा स्थानीयहरू सहभागी भएका थिए ।