
नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय नेताहरूले छुट्टै भेला नयाँ बानेश्वरमा जारी छ। नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा जारी भेलामा केन्द्रीय कार्यसम्पादन समितिमा नपरेका संस्थापन पक्षका सदस्यहरूको सहभागिता रहेको छ ।
भेलामा आगामी रणनीति र आन्तरिक विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य गुरू बरालले जानकारी दिए। उनका अनुसार भेलाबाट १५औं महाधिवेशनको मिति प्रस्ताव गरिनेछ।
बरालले भने, ‘भेलाले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि आह्वान गर्नेछ र त्यसपछि महाधिवेशनको मिति टुंगो लगाउने प्रस्ताव अघि सार्ने तयारी छ।’
यसैबीच, कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने विवाद चर्किँदै गएको छ। यही विवादका कारण केन्द्रीय कार्यसमिति बैठक स्थगित हुँदै आएको छ। पटकपटक गरी भोलिसम्मका लागि स्थगित गरिएको बैठक बस्ने नबस्ने टुंगो छैन ।
पार्टीका महामन्त्री गगनकुमार थापालगायत इतर समूहका नेताहरूले मंसिर वा पुसमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। उता कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन समूह भने फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडानमा छन्।