
चिकित्सा शिक्षा आयोगको बैठकले देशभरका सरकारी तथा निजी क्याम्पसहरूका लागि पोष्ट ग्राजुएट (पीजी) अध्ययनका सिट संख्या निर्धारण गरेको छ।
आइतबार सिंहदरबारमा बसेको आयोगको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सरकारी क्याम्पसलाई एक हजारभन्दा बढी र निजी क्याम्पसलाई एक हजारभन्दा केही कम सिट तोकिएको जानकारी दिए। उनका अनुसार सिट बाँडफाँडबारे विस्तृत छलफलपछि सबै पक्ष संतुष्ट हुने गरी सिट संख्या निर्धारण गरिएको हो।
मन्त्री पुनले भने, ‘पोष्ट ग्राजुएट पढ्ने विद्यार्थीलाई कुन कलेजमा कति सिट दिने भन्ने विषयमा छलफल भयो। करिब सरकारी कलेजलाई हजारभन्दा अलि बढी र निजीलाई हजारभन्दा अलिकति कम सिट विभाजन गरिएको छ। सहभागीहरू सबै खुसी छन्, सबैलाई सिट संख्या पुगेको छ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले सिट निर्धारण सम्बन्धी निर्णय पारित गरेको हो।