
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबिना पार्टी अघि बढ्न नसक्ने बताएका छन्।
प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान राजनीतिक परिस्थितिमा ओलीको विकल्प खोज्नु पार्टी एकता र राष्ट्रिय हितविरुद्ध हुने दाबी गरे।
थापाले विधान महाधिवेशनले ओलीको नेतृत्वलाई निरन्तरता दिने संकेत गरिसकेको उल्लेख गर्दै ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा अघि बढाउनुपर्ने बताए। पार्टीभित्र भइरहेका उम्मेदवारी घोषणाले विभाजन र विसर्जनको खतरा बढाइरहेको भन्दै उनले सहमतिमै नेतृत्व चयन गर्न आग्रह गरे। आगामी नेतृत्वमा आफू पनि जिम्मेवारीसहित रहने अपेक्षा रहेको उनले स्पष्ट पार्रे।
माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई समेट्न आवश्यक परे विधान संशोधन गरेर पदाधिकारी विस्तार गर्न सकिने थापाको भनाइ थियो।
उनले जेन–जी आन्दोलनलाई विदेशी शक्तिद्वारा सञ्चालित ‘कलर रिभोल्युशन’को नाम दिँदै पश्चिमाहरूले नेपाललाई अस्थिर बनाउन खोजिएको आरोप लगाए। एसपीपी पास गराएर नेपालमा विदेशी सैन्य उपस्थिती बढाउने योजनाअनुसार आन्दोलन भएको दाबी गर्दै उनले राजनीतिक नेतृत्वलाई कमजोर पार्ने प्रयास भइरहेको चेतावनी दिए।
थापाले भर्खर गठन भएको नेकपालाई पनि ‘मूल घर’ एमालेमै फर्किन आग्रह गर्दै अहिलेको परिस्थितिमा ओली नेतृत्वको निरन्तरता पार्टी र देश दुवैका लागि आवश्यक रहेको पुनः दोहोर्याए।