काठमाडौं, पुस ३ :

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउन स्पेशल टाक्स फोर्स बनाएर काम गर्ने बताएका छन् ।

२५ औं अन्तराष्ट्रिय आप्रवासन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले बैदेशिक रोजगारका क्षेत्रमा धेरै गुनासो आउने गरेको भन्दै यसलाई व्यवस्थीत बनाउन स्पेशल टाक्स फोर्स बनाएर काम गर्ने बताएका हुन् । मन्त्रालयमातहत रहने टाक्स फोर्समा सीआईबी, अपराध महाशाखा लगाएतलाई सहभागी गराएर काम गर्ने उनले बताए ।

उनले बैदेशिक रोजगार क्षेत्रमा देखिएका बिकृति अन्त्य गर्न व्यवसायीहरु नै अग्रसर हुनुपर्नेमा जोड दिए । जेनजी आन्दोलनपछि अब सुशासनका क्षेत्रमा सुधार गर्न नसके अर्को ठुलो बिष्फोट हुनसक्नेतर्फ सबै सजक हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री भण्डारीले बैदेशिक रोजगारका क्षेत्रले मुलुकको अर्थतन्त्रमा धेरै सहयोग गरेको भन्दै यस क्षेत्रलाई सुधार गर्नुको विकल्प नभएको धारणा राखे ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर  १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइने गरिन्छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओइमेद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदनअनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । नेपालमा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी रहेको छ ।