
पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई राज्यका उपहारसम्बन्धी एक ठगी मुद्दामा थप जेल सजाय सुनाइएको छ।
उनीहरूलाई पाकिस्तानका उपहारसम्बन्धी नियम उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएको हो। सन् २०२१ को एक राजकीय भ्रमणका क्रममा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले बुशरा बीबीलाई एक महँगो गहना सेट उपहार दिएका थिए।
खान दम्पती यसअघि नै अन्य मुद्दामा जेल सजाय भोगिरहेका छन्। नयाँ सजाय अन्तर्गत आपराधिक विश्वासघातका लागि १० वर्ष,आपराधिक दुरुपयोगका लागि सात वर्ष जेल र जरिवाना तोकिएको छ। यी सजायहरू पहिलेका सजायसँगै लागू हुने बताइएको छ।
खानले यी आरोपहरू राजनीतिक प्रेरणाबाट लगाइएको बताएका छन्। उनका वकिलले आफ्नो टोलीले फैसलाविरुद्ध चुनौती दिने योजना बनाएको बताएका छन्।
सुनुवाइपछि खानका वकिल सलमान सफदरले अदालतको सामान्य समय सकिएपछि शुक्रबार राति ढिलो मात्र सजायबारे जानकारी दिइएको बताए।
उनका अनुसार, खानको कानुनी टोलीले उच्च अदालतमा यो फैसलाविरुद्ध अपिल गर्ने तयारी गरिरहेको छ।
यो मुद्दा क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानविरुद्ध लगाइएका धेरै आरोपहरूमध्ये पछिल्लो हो। उनी सन् २०२३ को अगस्टदेखि हिरासतमा छन्। जनवरीमा उनलाई अर्काे भ्रष्टाचार मुद्दामा १४ वर्ष जेल सजाय सुनाइएको थियो।
खानविरुद्ध राज्य गोप्य सूचना चुहावटदेखि राज्यका उपहार बिक्रीसम्मका १०० भन्दा बढी मुद्दा दर्ता भएको बताइन्छ, यद्यपि बीबीसीले यकिन संख्या पुष्टि गर्न सकेको छैन।
पाकिस्तानका नियमअनुसार, राज्यका उपहारहरू तोशाखाना विभागमा बुझाइन्छ, तर राजनीतिज्ञहरूले ती वस्तुहरू पुनः किन्न पाउने व्यवस्था छ।
खानले उक्त गहना सेटको मूल्य कम देखाउन एक निजी कम्पनीलाई आग्रह गरेको र त्यसपछि निकै कम मूल्यमा फिर्ता खरिद गरेको आरोप लगाइएको छ।
जेल सजायसँगै, दुवै जनालाई १ करोड ६० लाख पाकिस्तानी रुपैयाँभन्दा बढी जरिवाना पनि तोकिएको छ।
खान यसअघि पनि अर्को फरक तोशाखाना मुद्दामा दोषी ठहर भइसकेका थिए, तर उनले त्यसविरुद्ध चुनौती दिएका कारण अपिलको निर्णय नआएसम्म उनको सजाय स्थगित छ।
उनका विरुद्ध अझै अन्य मुद्दाहरू पनि विचाराधीन छन्।
यसमा ९ मे २०२३ मा उनी पक्राउ परेपछि भएका हिंसात्मक प्रदर्शनसँग सम्बन्धित आतंकवादका आरोपहरू पनि समावेश छन्।खान अप्रिल २०२२ मा अविश्वास प्रस्तावमार्फत पदच्युत भएपछि पाकिस्तानका प्रधानमन्त्री रहेनन्।
यद्यपि उनी सार्वजनिक रूपमा देखिएका छैनन्, उनको सामाजिक सञ्जाल खाताहरू सक्रिय छन्। जेल भेटघाटपछि उनका नामबाट सन्देशहरू पोस्ट हुने गरेका छन्।
यी सन्देशहरू पाकिस्तानको वर्तमान सरकार र शक्तिशाली सेनाप्रमुख फील्ड मार्शल आसिम मुनीरप्रति निकै आलोचनात्मक रहेका छन्। केही पोस्टहरूमा उनलाई “तानाशाह” भनेर समेत सम्बोधन गरिएको छ।
नोभेम्बरमा खानलाई करिब एक महिनासम्म कुनै पनि भेटघाटको अनुमति दिइएको थिएन।
उनको परिवार र पार्टीको अभियानपछि डिसेम्बरको सुरुतिर उनकी बहिनीलाई भेट्न अनुमति दिइयो। भेटेको केही घण्टापछि खानको खाताबाट पोस्ट गरिएको एक सन्देशमा फील्ड मार्शल आसिम मुनीरलाई “मानसिक रूपमा अस्थिर व्यक्ति” भनिएको थियो।
त्यसयता खानलाई कुनै पनि पारिवारिक भेटघाटको अनुमति दिइएको छैन।फैसलामा न्यायाधीशले खानको बढ्दो उमेरलाई ध्यानमा राख्दै सजाय तोक्दा केही नरमी अपनाएको उल्लेख गरिएको छ।