काठमाडौं, पुस ३० :

महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । सहकारी ठगीको मुद्दा यथावत् राख्दै संगठित अपराध र सम्पत्ति शुद्धिकरण जस्तो गम्भीर दुई मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै सरकारी वकिलको कार्यालयले सम्बन्धित जिल्लाबाट अभियोग फर्ता लिनेछन् ।लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र पर्सामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा थियो ।

महान्यायाधिवक्ता सबिता भण्डारी बरालले बुधबार अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय गरेकी हुन् । यो निर्णय पछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ । त्यसो त महान्यायाधिवक्ता भण्डारी आफैं डिम्ब बिक्री प्रकरणमा विवादित छिन् । उनले किन यस्तो गम्भीर प्रकृतिको मुद्दा फिर्ता लिइन् भन्ने भित्री रहस्य खुल्न बाँकी छ ।