काठमाडौं, फागुन २ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी 'संकल्प-पत्र' सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले संकल्प-पत्र पढेर सार्वजनिक गरेका हुन्।

'बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं'राप्रपाले राजसंस्थालाई अघि सारेको छ । प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचनाको कल्पना राप्रपाले गरेको छ । उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्न कानुनी व्यवस्था मिलाउने संकल्प-पत्रमा प्रतिबद्धता जनाएको छ ।

पार्टीले नेपाल बन्द तथा हड्ताल नगर्ने प्रतिबद्धता जनाउँदै भ्रष्टाचार नियन्त्रण, न्यायपालिका सुधार र आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउने योजना पनि अघि सारेको छ।भ्रष्टाचारसम्बन्धी सूचना दिनेलाई संरक्षण तथा प्रोत्साहन गर्न सूचक संरक्षण ऐन बनाई लागू गर्ने पनि संकल्प-पत्रमा उल्लेख छ ।