
काठमाडौं, फागुन १० :
शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर जंगलमा लागेको आगो हेलिकोप्टरबाट पानी खन्याएर निभाइएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ३ सुन्ताखानमा पर्ने तारेभिरको जंगलमा लागेको डढेलो सिम्रिक एयरको हेलिकोप्टरले पानी खन्याएर निभाएको हो ।
डढेलो नियन्त्रणका लागि हेलिकोप्टरले १३ पटक पानी खन्याउनु परेको थियो । समयमा नै डढेलो नियन्त्रणमा लिन सकिएकाले बस्तीतर्फ जानबाट रोकिनुका साथै ठुलो जनधनको क्षति जोगिएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान लागेको डढेलो नियन्त्रणका लागि गृह मन्त्रालयले हेलिकोप्टर पठाएको थियो । डढेलो नियन्त्रणमा लिन सुरक्षाकर्मी, निकुञ्जका कर्मचारी तथा स्थानीय बासिन्दा समेत खटिएका थिए । सुख्खायाम सुरु भएसँगै मुलुकभर आगलागी र डढेलोको घटना बढन थालेको छ ।