धनगढी, फागुन १९ :

धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा आज साँझ दुई पक्षका युवाहरूबीच झडप भएको छ । विवादले उग्ररुप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबीच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि ६ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले जानकारी दिए। 

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि पनि कुटपिट भएको र ढुंगामुढा प्रहारबाट प्रहरी निरीक्षक बलराम पाण्डे र सहायक प्रहरी निरीक्षक डबल साउद घाइते भएको उनले बताए । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयको गाडीमा समेत क्षति पु¥याएका छन् । 

दुई टोलका युवाबीच पुरानो रिसइवीको निहुँमा आज होली मनाउने क्रममा विवाद उत्पन्न भई उग्ररुप लिएको जनाइएको छ । झडपका क्रममा घाइते कालु राना थारुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।