काठमाडौं, फागुन २१ :

बिहान ७ बजेबाट सुरु भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन अहिले पनि शान्तिपूर्ण रुपमा जारी रहेको छ । मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा गएर मतदान गरेका छन् ।

 निर्वाचनमा उम्मेदवार बनेका कतिपय नेताहरुले भने सो क्षेत्रमा आफैंलाई मतदान गर्न पाएनन् । बसाइँसराई र निर्वाचन क्षेत्र परिवर्तका कारणले पनि उनीहरुले निर्वाचन लडेको क्षेत्रमा गएर आफैंलाई मतदान गर्न पाएनन् ।

यसरी आफैंलाई मतदान गर्न नपाउने नेताहरुको संख्या धेरै रहेको छ । जसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक प्रचण्ड, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा,रास्वपाका सभापति रवि लामिछाने, रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले पनि आफ्नो लागि मत हाल्न पाएनन् । यद्यपि प्रत्यक्ष र समानुपातिक गरी दुईवटा मतपत्र भएका कारण उनीहरुले आफ्नै पार्टीका प्रत्यक्षका उम्मेदवार र समानुपातिकका उम्मेदवारलाई भने भोट हाल्न पाए ।

सर्लाही ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरे । यस्तै झापा ५ बाट उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा गएर मतदान गरेका छन्।

यस्तै नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन जिल्ला को निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी विद्यालय शान्तिपुर मा रहेको मतदान केन्द्रबाट मतदान गरे। मतदान गरेपछि उनी रुकुम पूर्व पुगेका छन् ।

यस्तै चितवन - २ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गरे ।

यस्तै झापा ५ बाट उम्मेदवार बनेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।