काठमाडौं, फागुन २१ :

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्नो जीवनमा कहिल्यै नबिर्सने दिन भएको बताएका छन्। सामाजिक सञ्जालमा उनले आज आफ्नो जीवनको लागि दुई संयोगका दिन भएको बताएका हुन्।

अध्यक्ष ओलीले फागुन २१ का दिन आफ्नो जीवनसँग जोडिएका दुई महत्वपूर्ण संयोग परेको उल्लेख गर्दै आज सुखानी शहीद दिवस पनि भएको र आजकै दिन ६ वर्षअघि आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएको स्मरण गरेका छन्। उनले यी दुवै दिन आफूले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको दिन भएको बताएका छन्।

उनले झापा आन्दोलनको स्मरण गर्दै निरंकुश व्यवस्थाविरुद्ध विद्रोहको बिगुल फुकेको आन्दोलन थियो भन्दै सोही आन्दोलनका क्रममा आफूहरूलाई पक्राउ गरी जेल हालिएको उल्लेख गरेका छन्। ओलीले पञ्चायती व्यवस्थामा जेल परेको पनि स्मरण गरेका छन्।

ओलीले झापा आन्दोलनका पाँच योद्धा—रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने बहानामा तत्कालीन निरंकुश व्यवस्थाले सुखानी वनमा लगेर हत्या गरेको बताएका छन्।

उनले आफू पनि त्यतिबेला जेल सार्ने बहानामा हत्या गरिन लागेको अवस्थामा मृत्युको मुखबाट फर्किएको र त्यसपछि १४ वर्षसम्म कठोर कारावास जीवन बिताएको बताएका छन्।

त्यसो त आज भएको निर्वाचनमा उनका प्रतिस्पर्धी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह छन् । यो निर्वाचनमा उनी हार्छन् या जित्छन् त्यसको नजिता केही दिनमै थाहा हुनेछ । यदि उनले निर्वाचन हारे पनि जिते पनि फेरि उनको जीवनमा फागुन २१ मा तीनवटा संयोग पर्नेछ ।