
प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि भर्ना भएका निर्वाचन प्रहरीलाई आज बिदाइ गरिएको छ । आफ्नो कार्यअवधि पूरा गरेका उनीहरुलाई धन्यवाद पत्रसहित बिदाइ गरिएको हो ।
४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० भर्ना गरेको थियो । जसमध्ये काठमाडौंमा ३ हजार ८५४, भक्तपुरमा १ हजार ९३ तथा ललितपुरमा १ हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो । यस्तै सशस्त्र प्रहरी बललेले पनि १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गरेको थियो। उनीहरुलाई पनि आजै बिदाइ गरिएको छ ।
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरीको पनि महत्वपूर्ण भूमिका रहयो । मतगणना सार्वजनिक भैसकेको अवस्थामा उनीहरुको जिम्मेवारी पूरा भएको ठहर गरिएको छ ।
निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई सरकारले ३४ हजार ७७६ रुपैयाँ तलब दिएको छ। साथै रासन र आउजाउ गर्न उनीहरुलाई ८४६ रुपैयाँ थप तयारी खर्च दिइएको छ। निर्वाचन प्रहरीमा युवादेखि अवकाश पाएका व्यक्तिहरु समेत सामेल थिए । सरकारले आफूहरुलाई सिप सिकाएर रोजगारीको व्यवस्था गरिदियोस् भन्ने उनीहरुले चाहना व्यक्त गरेका छन् ।