
काठमाडौं, चैत २७ :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । सरकारले शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने व्यवस्था गरे पनि स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाइ राख्न स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
बिरामीलाई पर्न सक्ने असहज अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले आइतबार पनि ओपीडि सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । सरकारले साताको २ दिन बिदा दिने घोषणा गरेपछि केही सरकारी अस्पतालले ओपीडी सेवा बन्द गर्ने निर्णय गरेका थिए ।
आइतबार सेवा प्रवाहमा खटिने कर्मचारीलाई शनिबारबाहेक साताको अर्को दिन बिदा दिने वा त्यसो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।