मकवानपुर, असोज २० :

पूर्व- पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने वर्ष २७ का राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२- ०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट आठ वटा बिस्कुटको आकारको (तौल गर्दा आठ किलो २४३ ग्राम ९७) मिलिग्राम सुन बरामद भएपछि उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरूको साथबाट बरामद भएको उक्त परिणामको सुनको मूल्य (आजको मूल्यअनुसार) ११ करोड ४३ लाख ५७ हजार ८७८ रहेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको जनाइएको छ ।