
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ। लेखा समितिको सभापतिमा उम्मेदवारी दिने तय भएको कांग्रेस सांसद भीष्मराज आङदेम्बेले बताए।
लेखा समितिमा कांग्रेस सांसदहरू भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरी सदस्य छन्। उनीहरूमध्ये एक जनालाई सभापतिको उम्मेदवार बनाउने तयारी गरिएको छ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेखा समितिबाहेक सबै समितिको नेतृत्व आफैसँग राख्ने तय गरेपछि कांग्रेसले यसमा दाबी गरेको हो। यद्यपि रास्वपाले लेखा समितिको सभापति श्रम संस्कृति पार्टीलाई दिने विषयमा छलफल गर्दै आएको छ।
प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ। प्रतिनिधिसभाका १० वटा समिति छन् भने दुई वटा संयुक्त समिति छन्।
आज दिउँसो १ देखि ४ बजेसम्म सपभातिमा उम्मेदवारी दर्ताको समय तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ। आजै दिउँसो साढे ४ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ।