
अमेरिकाले आफ्नो नाकाबन्दी जारी राखेमा इरानको सेनाले हर्मुज जलमार्ग बन्द गर्ने चेतावनी दिएको छ।
यूके म्यारिटाइम ट्रेड अपरेसन्स सेन्टरका अनुसार उक्त क्षेत्रमा रहेको एउटा तेल ट्यांकरमाथि दुईवटा इरानी गन बोटले गोली प्रहार गरेको रिपोर्ट आएको छ।
इरानका विदेशमन्त्रीले शुक्रबार भनेका थिए कि युद्धविरामको बाँकी अवधि भर हर्मुज जलमार्ग व्यापारिक जहाजहरूका लागि पूर्ण रूपमा खुला रहनेछ।
उनको त्यो भनाई आएक केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलमार्ग पूर्ण रूपमा खुला र व्यापारका लागि तयार रहेको बताएका थिए । तर शान्ति सम्झौता नभएसम्म अमेरिकाले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी जारी राख्ने बताएका छन्। स्थिति निकै जटिल र अन्योलपूर्ण छ।
आज बिहान केही तेल ट्यांकरहरूले उक्त जलमार्ग पार गरेको छ ।
राष्ट्रपति ट्रम्पले इरानले सबै कुरामा सहमति जनाएको समेत दाबी गरेका छन्, जसमा समृद्ध युरेनियम हटाउने कुरा पनि समावेश छ । तर इरानले यो दाबी अस्वीकार गरेको छ।
इरानी अधिकारीहरूले यो नाकाबन्दीलाई गत साता भएको इरान–अमेरिका युद्धविराम सम्झौताको उल्लङ्घन बताएका छन्। संसदका सभामुख मोहम्मद बाघेर कालिबाफले शनिबार बिहान एक्समा लेख्दै भनेका छन् कि यदि नाकाबन्दी जारी रह्यो भने जलमार्ग खुला रहनेछैन।
इरानले लेबनानमा भएको लडाइँका कारण जलमार्गमा प्रतिबन्ध लगाएको थियो जसलाई उसले पाकिस्तानको मध्यस्थतामा भएको युद्धविरामको उल्लङ्घन भनेको थियो। त्यसपछि राष्ट्रपति ट्रम्पले यस साता नाकाबन्दी घोषणा गरेका थिए। पछि ट्रम्पले यसै सप्ताहन्तमा अमेरिका इरानबीच प्रत्यक्ष वार्ताको दोस्रो चरण हुन सक्ने संकेत पनि दिएका छन्।
इरानले जलमार्ग खुला रहेको घोषणा गरेपछि तेलको मूल्य ९ प्रतिशतले घट्यो र डाउ जोन्स सूचकांक १,१०० अंकसम्म उक्लियो जसले फारस खाडीबाट तेल ढुवानी पुनः सुरु हुन सक्ने संकेत दिएको थियो।
सम्भावित खराब आर्थिक अवस्थाबाट बच्न सकिने आशामा अमेरिकी सेयर बजार लगातार तेस्रो साता पनि बढेको छ। डेटा कम्पनी केपलरका अनुसार बजारमा सावधानीपूर्ण आशावाद देखिएको छ तर सामान्य अवस्थामा फर्कन हप्ताहरू होइन महिनाहरू लाग्न सक्छ भन्ने चेतावनी पनि दिइएको छ।
इजरायल र लेबनानबीच १० दिने युद्धविराम शुक्रबार मध्यरातदेखि सुरु भएको छ र इजरायल तथा हिज्बुल्लाहबीच एक महिनाभन्दा बढी चलेको युद्धपछि हालसम्म कायम रहेको देखिन्छ। यद्यपि इरान समर्थित लेबनानी लडाकु समूह हिज्बुल्लाह उक्त सम्झौताको पक्ष होइन।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिज्बुल्लाहसँगको लडाइँ अझै समाप्त नभएको बताएका छन्। हिज्बुल्लाहले भने आफ्नो प्रतिक्रिया परिस्थितिको विकासमा निर्भर रहने जनाएको छ।
यो नाजुक शान्तिपछि विस्थापित भएका हजारौँ लेबनानी परिवारहरू घर फर्किन थालेका छन्। इजरायल–हिज्बुल्लाह युद्धका कारण सानो देश लेबनानमा १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। इजरायली हवाई आक्रमणका कारण लेबनानमा झण्डै २ हजार ३ सय जनाको मृत्यु भइसकेको छ।