काठमाडौं, वैशाख ७ :

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न खोज्नेहरुसँग अब कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पार्टीभित्र रहेर पार्टीलाई नै खरानी पार्न खोज्नेहरुसँग अब कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले आफ्नो जिल्लामा वडा समिति बनाउन नसक्ने, चुनावमा पार्टीका उम्मेद्वारलाई नसघाउने र राष्ट्रिय पार्टी बन्नबाट रोक्न खोज्ने पार्टीभित्रका नेताहरुको कुनै कुरा नसुनिने समेत बताए ।

 महाधिवेशन सारेर कार्यकाल लम्बाउने पक्षमा आफू नरहेको भन्दै अध्यक्ष लिङ्देनले वैधानिक र व्यवस्थित तवरले उचित समयमा महाधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व तयार रहेको धारणा राखे । पार्टीभित्रको अबको समस्याको समाधान महाधिवेशन मात्रै भएको उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष लिङ्देनले अहिले संसदमा प्रतिपक्ष कमजोर भएको अवस्थामा सरकारको गलत कार्यको सडक र सदनबाट प्रतिवाद गर्ने धारणा राखे । उनले चुनावमा भोट लिनका लागि गरेको प्रचारजस्तो नभइ व्यहारमा नजिता आउने गरी रास्वपा नेतृत्वको सरकारले काम गर्न सक्नुपर्ने उल्लेख गरे ।

उनले गृहमन्त्रीकाबारेमा बाहिर आएका चर्चाका विषयमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए । रास्वपा सभापति र गृहमन्त्री स्वयंले पनि यस विषयमा आफ्नो पोजिसन स्पष्ट गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले यसअघि देखिएका बेतिथिहरुलाई सच्चाउने कामको सुरु वर्तमान सरकारले गरेको भन्दै सकारात्मक कामको स्वागत गर्ने बताए । उनले देशको अभिभावकीय संस्थाका रुपमा राजा र हिन्दुराष्ट्र लगाएत आफूहरुको एजेण्डालाई आगामी दिनमा सशक्त ढंगले अघि बढाउने पनि बताए ।