
गोकर्णेश्वर नगरपालिकाले श्रम तथा रोजगारसम्बन्धी सेवाहरूलाई डिजिटल माध्यमबाट एकीकृत रूपमा प्रवाह गर्ने उद्देश्यले ‘श्रम संसार ’ प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीद्वारा शुक्रबार जारी सूचनामा गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र रहेका सबै निजी क्षेत्रका रोजगारदाता, रोजगार एजेन्सी, तालिम प्रदायक संस्था तथा रोजगार खोज्ने व्यक्तिहरूले मिति २०८३/०१/३१ (वैशाख मसान्त) भित्र अनिवार्य रूपमा उक्त प्रणालीमा आबद्ध भइसक्नुपर्ने उल्लेख गरिएको छ। साथै, श्रम तथा रोजगारसम्बन्धी सम्पूर्ण सूचना तथा अवसरहरू सोही प्रणालीमार्फत प्रसारण गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको च. नं. ५५, मिति २०८२/०१/०४ को पत्रका आधारमा नेपाल सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन ‘श्रम संसार’ नामक एकद्वार प्रणाली सञ्चालनमा ल्याएको हो। यस प्रणालीमार्फत श्रम तथा रोजगारसँग सम्बन्धित सेवा, सूचना, रोजगारीका अवसर तथा तालिमसम्बन्धी जानकारी उपलब्ध गराइनेछ।
श्रम संसार प्रणालीमा आवद्ध हुन इच्छुकहरूले यसको आधिकारिक वेबसाइट www.shramsansar.gov.np मार्फत वा मोबाइलको प्ले स्टोर तथा एप स्टोरबाट एप डाउनलोड गरी दर्ता गर्न सक्नेछन्।
यस विषयमा थप जानकारी वा सहजीकरण आवश्यक परेमा गोकर्णेश्वर नगरपालिकाको रोजगार सेवा केन्द्र वा प्रशासन शाखामा सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।