काठमाडौं, वैशाख २० :

अनामनगरस्थित धोबीखोला करिडोरमा रहेको सबैभन्दा ठूलो घर भत्काउन थालिएको छ। उपत्यकाका खोला किनारमा बनेका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत अतिक्रमण गरी निर्माण गरिएको भन्दै उक्त घरमा डोजर चलाइएको हो।

पूर्ण रूपमा घर भत्काउँदा ठूलो क्षति हुने देखिएकाले चिनो लगाइएको भाग मात्र भत्काइएको छ। बाँकी संरचना घरधनीले स्वयं भत्काउने सर्तमा डोजर फर्काइएको जनाइएको छ।

भत्काउनुअघि सुरक्षाकर्मीले घरभित्र रहेका सामान बाहिर निकालेका थिए। उक्त घरमा रेष्टुरेन्ट, बार, स्पा लगायत विभिन्न व्यवसाय सञ्चालनमा रहेका छन्। यसअघि सोही क्षेत्रमा रहेका सुकुमवासीका अन्य घरहरू भने भत्काइसकिएको छ।

स्थानीय प्रशासन र नगर प्रहरीको टोली बिहानै डोजरसहित त्यहाँ पुगेको थियो।