काठमाडौं, जेठ १ :

राष्ट्रपति रामचन्द्र पौडेल बढ्दो बेरुजुका कारण सार्वजनिक निकायमा जवाफदेहिता र आर्थिक अनुशासन खस्किएको भन्दै चिन्ता व्यक्त गरेका छन्। महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन बुझ्दै राष्ट्रपतिले चिन्ता जाहेर गरेका हुन् ।

यसैबीच,संविधान संशोधन छलफलमा 'जेनजी' प्रतिनिधिहरूले अस्वीकार गरेका छन् । विगतमा भएको सहमति कार्यान्वयन नभएको जनाउँदै सहभागी हुन इन्कार गरेका हुन् । संविधान संशोधनको बहसमाथिको छलफलमा किन उनीहरुले साथ दिएनन् भन्ने धेरैको चासो बढेको छ ।

यता, यशोदा फुड्स प्रालिद्वारा उत्पादित करेण्ट चाउचाउ गुणस्तरहीन भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार यसमा अनिवार्य मापदण्ड अनुरूपको 'एक्सट्राक्टेड फ्याट भ्यालु' नपाइएकाले उक्त चाउचाउ बजारबाट फिर्ता गर्न र बिक्री नगर्न आदेश दिइएको छ।

त्यसो त रासायनिक मलको कालोबजारीमा पनि सरकारले कडाइ गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले अनुदानको रासायनिक मलमा कालोबजारी गर्ने र गलत विवरण राखेर बिक्री गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।