
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध सर्वोच्च अदालतको न्यायाधीश बन्न आवश्यक संवैधानिक योग्यता नै नपुगेको दाबी गर्दै उजुरी परेको छ।
उजुरीकर्ता टंकप्रसाद आचार्यले समितिमा दिएको उजुरीमा शर्मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुन आवश्यक मापदण्ड पूरा नगर्ने व्यक्तिलाई सिधै उच्च पदमा पुर्याइएको आरोप लगाएका छन्।
सुनुवाइ समितिमा आफ्नो धारणा राख्दै आचार्यले भने, “सपना प्रधान मल्ललाई नियुक्त गर्नुपर्छ भन्ने मेरो उजुरी होइन। यो उजुरी प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माविरुद्ध हो। यहाँ एसएलसी गरेको मान्छेलाई सिधै मास्टर डिग्रीमा भर्ना गरिएकोजस्तो अवस्था बनाइएको छ।”
उनले शर्माको न्यायिक अनुभव र नियुक्ति प्रक्रियामाथि समेत प्रश्न उठाए।नेपालको संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन कम्तीमा १५ वर्ष वकालत गरेको, वा सात वर्ष उच्च अदालतको न्यायाधीश भएको, वा १२ वर्ष न्याय सेवामा कार्य गरेको, अथवा सर्वोच्च अदालतमा १२ वर्ष प्रथम श्रेणीको अधिकृतको रूपमा काम गरेको हुनुपर्ने व्यवस्था छ।
उजुरीकर्ता आचार्यले शर्मासँग तीमध्ये कुनै पनि योग्यता नपुगेको दाबी गर्दै उनको नियुक्ति प्रक्रियामाथि संसदीय समितिले गम्भीर समीक्षा गर्नुपर्ने माग गरेका छन्।