काठमाडौं, जेठ ११ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताका लागि वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएको बताएका छन् । जबकि यसअघि उनले सम्झौता नजिक पुगेको संकेत गरेका थिए।

चर्चामा रहेको सम्झौतामा ६० दिनको युद्धविराम अवधि थप गर्ने, होर्मुज जलमार्ग मध्य पुनः खोल्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ताको योजना समावेश रहेको बताइएको छ।

सामाजिक सञ्जालमार्फत ट्रम्पले वार्ता “सकारात्मक” रूपमा अघि बढिरहेको उल्लेख गर्दै “दुवै पक्षले समय लिएर सही निर्णय गर्नुपर्छ” भनेका छन्।

शनिबार ट्रम्पले सम्झौता “धेरै हदसम्म तय भइसकेको” बताएका थिए, जसपछि चाँडै औपचारिक घोषणा हुन सक्ने अनुमान गरिएको थियो।

इरानी अधिकारीहरूले पनि सप्ताहन्तमा वार्तामा प्रगति भएको संकेत दिएका छन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार प्रस्तावित सम्झौता अन्तिम समाधान भने होइन। इरानमाथिका प्रतिबन्ध हटाउने माग, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने विषय तथा इरानको आणविक महत्वाकांक्षा सीमित गर्नुपर्ने वासिङ्टनको मागजस्ता जटिल विषयहरू पछि थप वार्ताबाट टुंग्याइने बताइएको छ।

यो प्रस्तावित सम्झौताले अमेरिकी रिपब्लिकन पार्टीभित्र विभाजन पनि ल्याएको छ। केही नेताहरूले यो सम्झौता इरानप्रति अत्यधिक नरम भएको टिप्पणी गरेका छन्।