काठमाडौं, जेठ १८ :

श्रम संस्कृतिक पार्टीका सांसद् आरेन राईले आफूले सोधेको प्रश्नमा प्रधानमन्त्रीले त्यस्तो जवाफ दिनुहुन्छ भन्ने थाहा पाएको भए प्रश्नै सोध्ने थिएन भनेका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा बैल्दै उनले प्रधानमन्त्रीको अभि्व्यक्तिले आफूलाई गहिरो दु:ख र लज्जाबोध भएको बताएका छन् ।

 नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता राष्ट्रिय एकता र भौगोलिक अखण्डता कुनै राजनीतिक दल, सरकार र व्यक्तिको मात्र विषय नभइ यो सम्पूर्ण नेपाली जनताको साझा भावना र संविधानको मूल मर्म र राष्ट्रको अस्तित्वसँग जोडिएको विषय भन्दै यस्ता विषयमा बोलिने अभिव्यक्ति राष्ट्रहितको अनुकुलतामा हुनु पर्ने बताए । प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट मात्र हटाएर हुँदैन यो इतिहासमा नजिर स्थापित भएको उनको भनाइ थियो ।

राईले उक्त अभिव्यक्तिले गलत नजिर स्थापित गरेको भन्दै प्रधानमन्त्रीले सदनमा आएर आफ्नो भनाइ फिर्ता लिनुका साथै माफी माग्नुपर्ने माग गरे। उनले यो विषय सम्बोधन नभएसम्म आफ्नो पार्टीले सदनको बैठक अवरुद्ध गर्ने चेतावनी पनि दिए।