नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरुले गरेको विरोधका कारण राष्ट्रियसभा बैठक जेठ २६ गते बस्नेगरी स्थगित भएको छ ।
बुधबार राष्ट्रियसभा सुरु हुनेबितिकै राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक एकसातापछि बस्नेगरी स्थगित गरिएको हो ।
त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य सुनीलबहादुर थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन भएकाले माफी माग्दै अभिव्यक्ति फिर्ता लिनुपर्ने बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व भएकाले यसका कारण छिमेकी राष्ट्रसंगको सम्बन्धमा समेत नकारात्मक असर पर्ने उल्लेख गरे । प्रधानमन्त्रीसंग सीमा मिचेको तथ्य भए संसदमा प्रस्तुत गर्न उनले माग गरे ।
सांसदहरुले निरन्तर उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बसेर सदन सञ्चालनका लागि आग्रह गरेका थिए। तर विरोध कायमै रहेपछि उनले जेठ २६ गते बस्नेगरी बैठक स्थगित गरे । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै सांसदहरुको विरोधका कारण राष्ट्रियसभाको बैठक केहिदिन देखि प्रभावित हुदै आएको छ ।