
प्रतिनिधिसभाको बैठकमा राप्रपाकी प्रमुख सचेतक तथा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की आएको विषय उठाएकी छन्।
सदनमा विषय उठेपछि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले बैठकभित्रै सांसद ओलीलाई भेटेर घटनाबारे आवश्यक अनुसन्धान गरिने र कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिए। साथै उनले औपचारिक प्रक्रियामा जान आग्रह गर्दै सरकार पीडितको सुरक्षाप्रति संवेदनशील रहेको बताएका छन्।
सांसद ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाललाई पुनः सनातन हिन्दु राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएको कारण सामाजिक सञ्जालमार्फत आफूविरुद्ध ज्यान मार्ने तथा बलात्कार गर्ने धम्की आएको बताइन्। उनले धम्की दिनेहरू इसाई धर्मावलम्बी भएको दाबी समेत गरिन्।
ओलीले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दै नेपाललाई पुनः सनातन राज्य घोषणा गर्नुपर्ने विषय उठाउँदा योजनाबद्ध रूपमा आफूविरुद्ध आक्रमण भएको बताइन्। नेपालमा ९० प्रतिशतभन्दा बढी सनातनीहरूको बसोबास रहेको उल्लेख गर्दै उनले आफ्नो धारणा राखेकी थिइन्।