
काठमाडौं, असार १ :
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानाले बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । उनले हात्तीको समस्या नयाँ विषय नभए पनि पछिल्लो समय मानव–वन्युजन्तुबीच द्वन्द्वको रूपमा सिर्जना भएको बताए ।
उनले झापाको मेचीनगर–४ की स्थानीय पद्मा पौडेलको निधन हुनु यसको ताजा उदाहरणको रूपमा प्रस्तुत गर्दै स्थानीयमाथि हात्तीको आक्रमण रोक्न सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।
पछिल्लो समय हात्तीका कारण मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेकाले समाधानका लागि सरोकारवालासँग सहकार्यमा समाधानको उपाय पहिल्याउन समेत सरकारलाई आग्रह गरिन्।